Gandhi Hospital

MSS मूल्याङ्कनमा औसत ७५% अंकसहित नयाँ उपलब्धि

2026-07-03

मूल्याङ्कनदेखि आत्ममूल्याङ्कनसम्म : MSS मूल्याङ्कनमा औसत ७५% अंकसहित नयाँ उपलब्धि कागेश्वरी मनोहरा नगर अस्पतालमा मिति २०८३ साल असार १८ र १९ गते सञ्चालन भएको Minimum Service Standards (MSS) मूल्याङ्कन कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। दुई दिनसम्म सञ्चालन भएको उक्त मूल्याङ्कन कार्यक्रमको नेतृत्व डा. केशव श्रेष्ठज्यूको नेतृत्वमा रहेको प्रदेशस्तरीय मूल्याङ्कन टोलीले गरेको थियो। साथै जनस्वास्थ्य कार्यालय, काठमाडौंका श्री सागर घिमिरेज्यूको गरिमामय उपस्थितिले कार्यक्रमलाई थप अर्थपूर्ण र प्रेरणादायी बनाएको थियो। मूल्याङ्कनका क्रममा अस्पतालको Governance, Clinical Service तथा Supporting Service लगायतका सम्पूर्ण पक्षहरूको सूक्ष्म अध्ययन, अवलोकन र समीक्षा गरिएको थियो। मूल्याङ्कनको नतिजाअनुसार अस्पतालले Governance तर्फ ७८ प्रतिशत, Clinical Service तर्फ ७५ प्रतिशत र Supporting Service तर्फ ७४ प्रतिशत अंक प्राप्त गर्दै औसत ७५ प्रतिशत नतिजा हासिल गरेको छ। यो मूल्याङ्कन केवल अंक प्राप्त गर्ने प्रक्रिया मात्र नभई आफ्नै कार्यसम्पादनको गहिरो समीक्षा गर्ने, सबल पक्षलाई अझ सुदृढ बनाउने तथा सुधार आवश्यक क्षेत्रहरू पहिचान गर्ने महत्वपूर्ण अवसरसमेत बनेको छ। मूल्याङ्कन टोलीले सेवा प्रवाहका क्रममा देखिएका साना–साना कमीकमजोरीहरूलाई समेत स्पष्ट रूपमा औंल्याउँदै सुधारका लागि महत्वपूर्ण सुझावहरू प्रदान गरेको छ। यी सुझावहरू आगामी दिनमा अस्पताललाई अझ व्यवस्थित, सेवाग्राहीमैत्री र गुणस्तरीय स्वास्थ्य सेवातर्फ अघि बढाउन मार्गदर्शक बन्ने विश्वास लिइएको छ। आज अस्पतालले हासिल गरेको यो उपलब्धि कुनै एक व्यक्ति वा कुनै एक शाखाको मात्र प्रयासको परिणाम होइन। यो अस्पताल व्यवस्थापन समिति, नगर प्रमुख तथा जनप्रतिनिधिज्यूहरू, सरोकारवाला निकाय, चिकित्सक, नर्स, स्वास्थ्यकर्मी तथा सम्पूर्ण कर्मचारीहरूको निरन्तर साथ, सहयोग, समर्पण र सामूहिक प्रयासको प्रतिफल हो। उहाँहरूको विश्वास र सहयोगकै बलमा अस्पतालले गुणस्तरीय स्वास्थ्य सेवाको यात्रामा अर्को महत्वपूर्ण खुड्किलो पार गर्न सफल भएको छ। कार्यक्रमको समापनका अवसरमा कार्यकारी निर्देशकज्यूले मूल्याङ्कन प्रक्रियामा समर्पित भावले योगदान पुर्‍याउनुहुने सम्पूर्ण अस्पताल परिवारप्रति हार्दिक धन्यवाद व्यक्त गर्नुभयो। उहाँले प्राप्त उपलब्धिलाई अन्तिम गन्तव्यका रूपमा नभई अझ उत्कृष्ट सेवातर्फ अघि बढ्ने प्रेरणाका रूपमा लिनुपर्ने उल्लेख गर्दै "हामी यही उपलब्धिमा रमाएर बस्ने होइन, अब यसलाई आधार बनाएर अझ अगाडि बढ्नुपर्छ। मूल्याङ्कनले देखाएका कमीहरूलाई सबैले आफ्नो साझा जिम्मेवारीका रूपमा स्वीकार गर्दै हातेमालो, समन्वय र प्रतिबद्धताका साथ सुधार गर्दै अघि बढ्नुपर्छ," भन्ने प्रेरणादायी सन्देश दिनुभयो। साथै उहाँले सम्पूर्ण कर्मचारीलाई निरन्तर हौसला प्रदान गर्दै प्रत्येक शाखाले आफ्नो जिम्मेवारी अझ प्रभावकारी रूपमा निर्वाह गरी देखिएका कमीकमजोरीहरूलाई सुधार गर्दै अस्पताललाई उत्कृष्ट स्वास्थ्य सेवाको नमुना संस्थाका रूपमा स्थापित गर्न सबै एकजुट भएर अघि बढ्नुपर्नेमा जोड दिनुभयो। हामी यस उपलब्धिलाई अन्तिम गन्तव्य होइन, अझ उत्कृष्ट सेवातर्फको नयाँ सुरुवातका रूपमा लिएका छौं। प्राप्त सुझावहरूलाई आत्मसात् गर्दै आगामी दिनमा अझ सुरक्षित, प्रभावकारी, सेवाग्राहीमैत्री र गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने हाम्रो प्रतिबद्धता अझ दृढ रहनेछ। यस महत्वपूर्ण मूल्याङ्कन कार्यक्रमलाई सफल बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग, साथ र प्रेरणा प्रदान गर्नुहुने मूल्याङ्कन टोली, जनस्वास्थ्य कार्यालय, काठमाडौं, अस्पताल व्यवस्थापन समिति, जनप्रतिनिधिज्यूहरू, सरोकारवाला निकाय तथा सम्पूर्ण स्वास्थ्यकर्मी र कर्मचारीहरूप्रति कागेश्वरी मनोहरा नगर अस्पताल हार्दिक धन्यवाद तथा आभार व्यक्त गर्दछ।

Emergency Call

01-4153593

Map & Direction

Mulpani 6, Kathmandu

Heli Rescue

Heli:01-5923120